२०८२ माघ १९ सोमवार , १०:२१:१९ बजे

Sajhamanch
'

टुटेको जनविश्वास कांग्रेसले मात्रै जोड्न सक्छ : उपसभापति शर्मा

सोमवार, माघ १९, २०८२

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन जीले उठाएको माग सम्बोधन गर्ने क्षमता कांग्रेसमा रहेको दावी गर्नुभएको छ । फरक विचार राख्ने तर परिवर्तन भएर आउने शक्तिको अस्तित्वसमेतलाई स्वीकार गरेर परिवर्तित सन्दर्भको नेतृत्व २००७ सालदेखि संविधान घोषणासम्म कांग्रेसले गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले पार्टी बदलेर देश बदल्ने संकल्पसहित कांग्रेस अघि बढेको पनि बताउनु भएको छ ।

चुनाव प्रचार समिति क्षेत्र नम्बर–२ झापाको आयोजनामा बिर्तामोडमा आज आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले ‘कांग्रेस बदलिएर आफैंबाट नेतृत्व र नीति परिवर्तन गरेर निर्वाचनमा होमिएको प्रष्ट पार्नुभएको हो ।

भेलालाई सम्बोधन गर्दै नेता शर्माले भन्नुभयो– ‘हामी त्यसै आएका छैनौ दूर दराजका सबै क्षेत्र घुमेर त्यसको विकासका लागि योजनासहित आएका छौं ।’

विशेष महाधिवेशनको चर्चा गर्दै उहाँले पार्टीमा परिवर्तन चाहने र नचाहने भनेर ब्यर्थको बहस नगर्न कार्यकर्तालाई सुझाव दिँदै एकढिक्का भएर मतपरिणाम आफ्नो पक्षमा पार्ने कार्यमा खटिन आह्वान गर्नुभयो ।

‘पटक–पटक नेतृत्व गरेको र पहिलोचोटी देशको नेतृत्व गर्छु भनेर आएका भावी प्रधानमन्त्रीका आकांक्षीभन्दा नेपाली कांग्रेसले अघि सारेका प्रधानमन्त्रीका उम्मेद्वार गगनकुमार थापा हरेक हिसाबले अब्बल हुनुहुन्छ’– उपसभापति शर्माले भन्नुभयो– ‘आफू परिवर्तित हुन नचाहनेले देशको परिवर्तन गर्न सक्दैन, पार्टीमा पाहुना गएकाले पनि नेतृत्व गर्न सक्दैन ।’

नेपाली कांग्रेसले यसपटक १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेद्वार बनाएको बताउँदै उहाँले विगतको तुलनामा दोब्बर संख्यामा महिला उम्मेद्वार बनाएपछि कार्यकर्तामा उत्साह बढेको धारणा राख्नुभयो । जेन जी आन्दोलनका क्रममा २३ गते सरकारबाट र २४ गते जेनजीका नाममा घुसपैठ भएर भएका अप्रिय घटनाको निष्पक्ष छानविन जरुरी रहेको उहाँको भनाई थियो ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–२ का सभापति खगेन्द्र मैनालीले निर्वाचन परिचालन एवं प्रचार–प्रसारका विषयमा भए–गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेश सुब्बा, नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराई लगायत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी, सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्य क्षेत्रीय प्रतिनिधि एवं क्रियाशिल सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।

क्षेत्रीय सचिव चन्द्र चुडालले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश सभापति उद्वव थापा, झापा क्षेत्र नम्बर–२ का उम्मेद्वार सरिता प्रसाई, समानुपातितर्फका उम्मेद्वारहरु उमा शिवाकोटी र मनुमाया विश्वकर्माले सम्बोधन गर्नुभएको थियो ।

सम्बन्धित खबर