
काठमाडौं । बैंकहरूको सम्पत्तिमा सुधारको सङ्केत देखिएको छ । बैंकहरूले देखाएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनले यस्तो सङ्केत देखाएको हो ।
विवरण अनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैंकको निष्क्रिय कर्जा घटेको छ । यसअघि सबैजसो बैंकको निष्क्रिय कर्जा बढ्दै आएकोमा यो अवस्थाले बैंकिङ क्षेत्रको कर्जा सुधारतर्फ गएको विश्लेषकहरूले बताएका छन् ।
यद्यपि यो अवधिमा केही बैंकको निष्क्रिय कर्जा दर अत्यधिक बढेकोले बैंकहरूको यस्तो कर्जाको औसत (भारित औसत होइन) मा भने बढेको देखिन्छ । असोजमा औसतमा ४.६६ प्रतिशत रहेको यो दर अहिले ४.८५ प्रतिशतमा पुगेको हो ।
यही अवधिमा १० वटा बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा धेरै हुँदा बाँकी १० वटाको त्योभन्दा कम रहेको देखिन्छ ।
कुन बैंकको कस्तो छ अवस्था?
पहिलो त्रैमासको तुलनामा निष्क्रिय कर्जा घटाउन सफल भएका बैंकहरूमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, कुमारी बैंक, नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल एसबिआई बैंक रहेका छन् ।
नबिल बैंकको असोज मसान्तमा ४.३१ प्रतिशत रहेको निष्क्रिय कर्जालाई ४.२५ मा झारेको छ । त्यस्तै, ग्लोबल आईएमईले ४.९८ बाट ४.९१ प्रतिशत, एभरेष्टले ०.७४ बाट ०.६८ प्रतिशत, एनएमबिले ४.५८ बाट ४.५६ प्रतिशत तथा कुमारीले ६.९८ प्रतिशतबाट ६.९२ प्रतिशतमा निष्क्रिय कर्जा कम गरेका छन् ।
त्यस्तै, नेपाल बैंकले ५.४९ बाट ५.३४ प्रतिशत, कृषि विकास बैंकले ४.७८ प्रतिशतबाट ४.६५ प्रतिशत, सानिमा बैंकले ३.९१ प्रतिशतबाट ३.६३ प्रतिशत र नेपाल एसबीआई बैंकले ३.०१ प्रतिशतबाट २.६४ प्रतिशतमा निष्क्रिय कर्जा कायम गरेका छन् ।
तर, बाँकी १० बैंकको निष्क्रिय कर्जा भने अझै बढेको छ । एनआईसी एशिया बैंकको ६.९९ बाट ४.७४ प्रतिशत, हिमालयन बैंकको ७.३९ बाट ७.९६ प्रतिशत, प्रभु बैंकको ५.७८ बाट ७.९४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ६.६३ प्रतिशतबाट ७.९० प्रतिशत पुगेका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३.८३ प्रतिशतबाट ४.३६ प्रतिशत, प्राइम कमर्सियल बैंकको ५.८६ बाट ६.३८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशतबाट ५.५० प्रतिशत, माछापुच्छ्रे बैंकको ४.१३ प्रतिशतबाट ४.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.७१ प्रतिशतबाट १.८८ प्रतिशत निष्क्रिय कर्जा पुगेको सम्बन्धित बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।



