
झापा । झापा क्षेत्र नं. ३ मा यो पटकको प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यतिबेला दुवै दल आआफ्नो चुुनावी अभियानमा लागेका छन् । सो क्षेत्रमा एमाले नेता कार्यकर्ताको भावना विपरित केन्द्रबाट तालमेल हुँदै आएको थियो ।
झापा ३ मा एमालेले १२ वर्षपछि आफ्नै उम्मेदवार पाएको हो । पार्टीमा अनुशासित र सालिन पहिचान बनाएका हरिबहादुर राजवंशीले उम्मेदवारी दर्तापछि शुभचिन्तकहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । ‘भूमिपुत्र’ नै उम्मेदवार पाएपछि झापा ३ का मतदाता उत्साहित भएको एमाले कार्यकर्ताको धारणा छ ।
फागुन २१ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरु आन्तरिक भेटघाटलाई तीब्रता दिइरहेका छन् । यसैबीचमा मतदाताहरुले देखाएको सद्भावले राजवंशी निर्वाचनमा जीत निकाल्ने ठाउँमा पुगेका छन् । एमालेबाट उम्मेदवार बनेका राजवंशीले झापा ३ का मतदाता मत बदल्न आतुर रहेको बताउँछन् । सूर्यमा मतदान गर्न इच्छुक मतदाताहरुको भावना १२ वर्षपछि सम्बोधन भएको उनको भनाई छ ।
१२ वर्षमा खोला फर्किन्छ भन्थे, राजवंशी भन्छन् – ठ्याक्कै त्यस्तै भएको छ । परिणामले पनि खोला फर्किएको प्रमाणित गर्नेछ ।
चुनावी अभियानमा सक्रिय राजवंशीले आम मतदाता आफ्नो उम्मेदवारीले खुशी भएको बताउँछन् । झापा– ३ मा अघिल्लो पटकसम्म सूर्यमा मत खसाल्न पाएनौं भन्ने मतदाताहरुको लागि अवसर प्राप्त भएको छ । सो क्षेत्रमा एमालेले उम्मेदवार नपाए पार्टीमा ठूलो विद्रोहको तयारी भएको थियो ।

एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो पार्टी संगठन निर्माण गरेर अन्य पार्टीको उम्मेदवारलाई मत दिनु व्यवहारिक नभएको स्पष्ट पार्छन् । एमालेले बलियो संगठन बनाएपछि अरु पार्टीको उम्मेदवारलाई सहयोग गर्न आवश्यक नै छैन ।
उनी भन्छन्, झापा ३ बाहिरबाट हेरेजस्तो मात्र छैन । सो क्षेत्रमा एमालेको बलियो र सुदृढ संगठन रहेको छ । हामी हाम्रो उम्मेदवारलाई विजय गराउने छौं । अध्यक्ष सापकोटाका अनुसार झापा ३ को मुख्य प्रतिष्पर्धी भने राप्रपा नै हो ।
विकास ल्याउन जिताएर पठाएको मान्छेले ‘राजा’ ल्याऔं भनेपछि एमाले समर्थक मतदाता रुष्ट बन्दै आएका थिए । एमालेले भोट दिएपछि फर्केर नहेर्ने प्रवृतिले आफ्नो उम्मेदवार तयार गरेको एमाले नेताहरुको भनाई छ । एक नेता भन्छन्, एमालेले जिताएर पठाएको मान्छेले बाँकी समय कुनै समन्वय र सहयोग गर्नुपर्छ कि पर्दैन ?
चुनाव जितेर जनताकै घर आगनमा रहने राजवंशीको प्रतिवद्धता छ । उनले चुनाव जितेपछि क्षेत्रभन्दा बाहिर नबस्ने बताउँदै आएका छन् । आफ्नो प्रतिनिधिलाई भेट्न क्षेत्रका जनताले कुनै कष्ट गर्नुपर्दैन, उनले भने ।
यो पटक राप्रपासँग तालमेल छैन । झापा ३ को विकासका लागि मतदाताले एमालेको उम्मेदवार चाहेका थिए, उनले थपे– ढुक्क भएर सूर्यमा मत दिनुहोस् ।
एमालेको राष्ट्रवादी छविमाथि आम मतदाता समेत खुलेर प्रसंशा गरिरहेको बताउँदै राजवंशीले झापा ३ मा एमालेको विजयी सुनिश्चित भएको दावी पनि गरेका छन् ।
यसअघि सो क्षेत्रमा एमालेले राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङदेनलाई सघाएको थियो । लिङ्देनले ४० हजार ६४८ मत ल्याएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए । सिटौलालाई तत्कालिन सत्ता गठबन्धनका दलहरुको साथ थियो ।
२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ पाएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा कांग्रेस नेता सिटौलाले लिङ्देनलाई हराएका थिए ।
पञ्चायतकालमा गोलधाप गाविसको वडाध्यक्ष बनेका लिङदेन २०६१ देखि ०६३ सम्म झापा जिल्ला विकास समितिमा राजाबाट चुनिएको सभापति बनेका थिए । पटक–पटक झापा ३ मा लिङदेन निर्वाचित भएपछि राप्रपाले पकडको क्षेत्रका रुपमा लिँदै आएको छ ।
झापा ३ मा यसअघिको निर्वाचनमा एमालेले समानुपातिकमा १९ हजार ४६० र राप्रपाले १९ हजार ७४३ मत प्राप्त गरेको थियो । यसपटक भने एमालेले आफ्नै उम्मेदवार उठाए पछि झापा–३ मा मुख्य प्रतिस्पर्धा गणतन्त्र पक्षधर एमाले र राजतन्त्र पक्षधर राप्रपाबीच हुने देखिएको छ । मतदाताले कसलाई विश्वास गर्ने हुन् भन्ने फैसला अब फागुन २१ गते हुने मतदानले गर्नेछ ।


