२०८२ माघ ११ आइतवार , ०८:११:०६ बजे

Sajhamanch
'

राष्ट्रियसभामा एमालेका सोम पोर्तेल र रोशनी मेचे कोशीबाट निर्वाचित

आइतवार, माघ ११, २०८२

बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट महिला सदस्यमा ७ हजार १७३ मतभारसहित रोशनी मेचे बिजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभाका ८७ मतदातामध्ये सूर्य ६४, तारा २२ तथा स्थानीय तहका २५८ मतदातामध्ये सूर्यमा १९९ र तारामा ५८ जनाको मत परेको थियो ।

यस्तै राष्ट्रियसभाको निर्वाचनमा कोशीबाट दलित तर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित हुनुभयो । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गर्नुभएको हो । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गर्दा सुन्दासले २ हजार २७ मतमात्र पाउनु भयो ।

कोशी प्रदेशबाट राष्ट्रियसभामा ३ सदस्य पदका लागि निर्वाचन भएको हो । अन्यतर्फको खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

पोर्तेल २०३५ साल फागुनमा पाँचथरमा जन्मिएर बाल्यकाल बिताउँदै हाल झापाको हल्दिबारीमा स्थायी बसोबास गर्नुहुन्छ । उहाँ एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव तथा जिल्ला समन्यव समिति झापाका पूर्व प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

यस्तै, राष्ट्रिय सभाको निर्वाचनमा अल्पसंख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने महिलातर्फकी उम्मेदवार रोशनी मेचे यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी सबल महिला हुनुहुन्छ ।

२०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुनुहुन्छ ।

अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उहाँ विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । मेचे हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत हुनुहुन्छ ।