
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाली कम्युनिस्ट पार्टीका धेरै नेता कार्यकर्ताहरु पार्टीबाट निस्कासनमा परेका छन् ।
पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेका र बागी उम्मेदवारलाई समर्थन गरेका कारण हरिबोल गजुरेल पनि कारबाहीमा परेका छन् । सिन्धुली २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) हुन् ।
यस्तै, दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी पनि पार्टीबाट निस्कासित भएका छन् ।
केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि उनलाई पार्टीले निस्कासन गरिदिएको हो ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री केसी पार्टीबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी रहेका छन् ।
यसैगरी सिरहा क्षेत्र नं. ४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टीले कारबाही गरेको छ ।
उनी नेपाली कम्युनिस्ट पार्टीबाटै टिकटका आकांक्षी थिए । टिकट नपाएपछि पार्टी छोडेर उनी नेकपा एमालेमा प्रवेश गरी सिरहा ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
साह तत्कालीन नेकपा एकीकृत समाजवादीमा केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्ज थिए । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र सहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि उनी केन्द्रीय सदस्य थिए ।
सिरहा ४ मा नेकपाका आधिकारिक उम्मेदवार अजयशंकर नायक रहेका छन् ।
यसैगरी, मेजर राई, राजकुमारी साह र जिवछ साह पनि नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको भन्दै उनीहरूलाई नेकपाले कारबाही गरेको जनाइएको छ ।
पार्टीको निर्णय र निर्देशन विपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कारण अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।


