२०८२ माघ ९ शुक्रवार , ०६:०३:३९ बजे

Sajhamanch
'

गीताको अर्को सिर्जना ‘भावस्पन्दन’ श्रोता/दर्शकमाझ

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पन्दन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।

मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त गीति एल्बमको लोकार्पण गरिएको हो ।

लोकार्पित एल्बममा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, तीजैमा ब्रत बसी’, ‘श्वास फेरि’ ‘छमछम नाचौंन’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ जस्ता सातवटा गीतहरु समावेश छन् ।

एल्बममा रहेका गीतमा सारिका घिमिरे, योगशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर रहेको छ । यस्तै दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ ।

एल्बम लोकार्पण समारोहकै क्रममा केक काटेर स्रष्टा गीता अधिकारीको जन्मोत्सव पनि मनाइएको थियो ।

गीतकार/साहित्यकार अमर वान्तुको प्रमुख आतिथ्यमा गीतकार संघका वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार तथा गीतकार उत्तम केसी, वरिष्ठ संगीतकार राजु सिंह, स्रष्टा गीता अधिकारी, एल्बमसँग सम्बन्धित संगीतकार दीपक शर्मा, संगीतकार राजेन्द्र बजगाईं र गायक सविन सुवेदी लगायतले उक्त गीति एल्बमको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले गर्नुभएको थियो । मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नु हुँदै मिलाप पत्रिका विगत १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको तथा भाषा, साहित्य, कला र संस्कृतिसँग सम्बन्धित समाचारलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संगीतकार दीपक शर्माले गीता अधिकारीका गीतमा संगीत संयोजन गर्न पाएको अनुभव साट्नुभयो । उहाँले गीताका सिर्जनामा मनोरञ्जनसँगै सशक्त सन्देश पनि समेटिने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्रीले गीतासँग लामो समयदेखि पत्रकारितामा सहकार्य रहेको स्मरण गर्दै पछिल्लो समय सृजनात्मक क्षेत्रमा देखिएको कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रभावबारे चर्चा गर्नुभयो ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गीता अधिकारीले आफ्नो जन्मदिनमा सिर्जनात्मक कृति सार्वजनिक गर्ने परम्परा बसाल्नु भएको स्मरण गर्दै यसअघि जन्मदिनकै अवसरमा ‘मैले पढेका ५१ पुस्तक’ र ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याइसकेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति महाकाव्यकार दाहालले गीताका यसअघिका दुई पुस्तकमा आफूले भूमिका लेखेको स्मरण गर्दै उहाँका कर्म र सिर्जनशीलता अनुकरणीय रहेको धारणा राख्नुभयो ।

सम्बन्धित खबर