२०८२ पौष २७ आइतवार , ०१:३६:३७ बजे

Sajhamanch
'

५ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो गएको वर्षको यही अवधिको तुलनामा ३५ दशमलव ६ प्रतिशतले धेरै हो । राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामै मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि १ लाख ७५ हजार ५९१ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ६३ हजार ९२४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको यही अवधिमा १ लाख ९० हजार ३८४ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ३५ हजार ४२५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।