२०८२ पौष १६ बुधवार , ०२:३१:३३ बजे

Sajhamanch
'

मध्य पुसको चिसोमा चटाइ र घूरको भर : वीरगञ्ज क्षेत्रका विद्यालयमा थप तीन दिन बिदा

बुधवार, पौष १६, २०८२

काठमाडौं । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको चिसोले तराई/मधेशको जनजीवन प्रभावित बनेको छ ।

विशेषगरी विपन्न तथा गरिब घरपरिवारलाई घूर तापेर मध्य पुसको चिसो कटाउनुपर्ने बाध्यता छ । पुस लागेयता चिसो बढ्न थालेको हो ।

महोत्तरी, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सालगायत मधेसका धेरैजसो जिल्लामा ‘घूर’ मा चारैतिर बसेर तातो ताप्नुपर्ने बाध्यता छ । महोत्तरीको लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा घूर तापेर जाडो काट्नु नियती रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो ।’ मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारसहितका जाति समुदायमा कुपोषणको समेत समस्या छ ।

त्यससँगै जाडो लागेपछि यी बस्तीका बासिन्दाको बिचल्ली नै हुन्छ । अन्न, ओढ्ने/ओछ्याउने र जिउ ढाक्ने न्यानो लुगाको अभाव छ । गुजुमुज्ज पराले छानाका यी बस्तीमा जाडो छल्ने ‘घूर’ र ओढ्न/ओछ्याउन चटाइ (परालको लुइँठो बटारेर बनाइएको मोटो गुन्द्री, स्थानीय भाषामा यसलाई गोनर पनि भनिन्छ) को भर पर्नुपर्छ । ‘भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो’, एकडारा–३ भटौलियाको मुसहर बस्तीका छठु सदा भन्नुहुन्छ, ‘राति जाडोले निद्रा नलाग्दा फेरि उही ‘घूर’ को सहारा लिन्छौ ।’

दिउँसोमा पारिलो घाम नलागेको दुई हप्ता भैसकेको छ । राम्ररी घाम नलागेपछि ती बस्तीका बासिन्दालाई सास्ती थपिएको छ । यसैबीच पर्साको वीरगञ्ज महानगरले तेस्रोपटक तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । दुई हप्तायता महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले आजदेखि पर्सि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो ।

यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ । वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा हुनसक्ने असरलाई ध्यानमा राखेर बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक र संस्थागत विद्यालयमा बिदा थप गरिएको हो । १९ गते शनिवार परेकाले पुस २० गतेदेखि मात्रै विद्यालय खुल्नेछन् ।

सम्बन्धित खबर