२०८२ पौष १३ आइतवार , ०९:०८:१८ बजे

Sajhamanch
'

सभामुख र उपसभामुखको पदावधि सकियो, सभामुखले निवास छोड्दै

आइतवार, पौष १३, २०८२

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुनु हुने भएको छ । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उहाँले सरकारी निवास छोड्ने तयारी पनि गर्नु भएको छ।

संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने हुँदा घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको उहाँको भनाइ छ ।

‘पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित क्षेत्रमा जवाफ दिनुपर्ने अवस्था आउने हुँदा प्रक्रियागत रुपमा अपठ्यारो पर्ने बुझेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘अब उहाँ कार्यालय जानुहुन्न । निवास सर्ने तयारी गर्दै गर्नुहुन्छ, डेरा पनि खोजिसक्नु भएको छ ।’

संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेको प्रतिनिधिसभाका सभामुख, उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल हुने उल्लेख छ ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदै छ ।

यसहिसाबले सभामुख र उपसभामुखको कार्यकाल आज गएराति १२ बजेदेखि सकिएको छ ।