२०८२ पौष १ मङ्गलवार , ११:३०:२८ बजे

Sajhamanch
'

डिजेल र मट्टितेल प्रतिलिटर चार रुपैयाँले घट्यो : पेट्रोलमा दुई रुपैयाँ बढ्यो

मङ्गलवार, पौष १, २०८२

काठमडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलका लागि १४२ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ तोकिएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि यो खुद्रा बिक्री मूल्य लागू हुने जनाइएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

सम्बन्धित खबर