
काठमाडौं । भन्सार एजेन्टको आन्दोलनका कारण ठप्प भएको भन्सार जाँचपासको काम शुरू भएको छ । आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्तापछि आन्दोलन रोकिएर भन्सार जाँचपासको काम शुरू भएको हो ।
एजेन्ट महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति निकालेर महासङ्घका माग सम्बोधन गर्न भन्सार विभाग सकारात्मक भएकोले पेन डाउन कार्यक्रम फिर्ता भएको जानकारी गराउनुभएको छ । यस्तै भन्सार विभागले पनि विज्ञप्ति निकालेर भन्सार एजेन्ट र विभागबीचको वार्ता सकारात्मक रूपमा टुङ्गिएको जानकारी दिएको छ ।
भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पार्ने वातावरण सिर्जना भएको भन्दै भन्सार एजेन्ट महासङ्घ नेपालले देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन गर्दा भन्सार जाँचपास ठप्प भएको थियो ।
गएको आइतवार वीरगञ्ज भन्सारबाट शुरू भएको पेनडाउन आन्दोलन दोस्रो दिन सोमवार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन हिजो देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरू बन्द गरिएको थियो ।


