२०८२ मंसिर २०, शुक्रवार , १२:२०:०९ बजे

Sajhamanch
'

मेची भन्सारबाट ४ महिनामा झन्डै ४ अर्वको अलैँची निर्यात

शुक्रवार, मंसिर २०, २०८२

झापा । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मेची भन्सार कार्यालयबाट अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।

चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा एक अर्ब ९० करोड दुई लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिनामा चियाको निर्यात ३७ दशमलव ७० प्रतिशतले घटेको छ । यो अवधिमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य बस्तुहरुमा भेनियर सिट १३४ दशमलव ८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो तीन दशमलव २० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी प्लाउड ५२ दशमलव ७० प्रतिशत, अम्रिसो २३ दशमलव ९० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ३० प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सात अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

सम्बन्धित खबर