२०८२ मंसिर १६, सोमवार , ०५:५०:०८ बजे

Sajhamanch
'

झापामा एमाले महाधिवेशन प्रतिनिधि चुनावबाट चुनिए

सोमवार, मंसिर १६, २०८२

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् ।

खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए ।

कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।
यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र कोशी प्रदेशका सांसद चिन्तन पाठक १४१४ मत प्राप्त गरि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

निर्वाचनको रात गणनाका क्रममा मत छुतेको विषयमा विवाद हुँदा आज विहानबाट खुल्ला तर्फको सबै मत पुनः गणना गरिएको थियो । विवाद हुँदा ६ सय मत गणना गर्न बाँकी थियो ।

क्षेत्रमा महिला तर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महतारा प्रसाई १८८०, पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मत प्राप्त गरी निर्वाचित भएका छन् । युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भए ।

झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन् । दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन भएको हो । दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ ।

उता, झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दिपक बराल निर्वाचित भए ।

यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवा तर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।

त्यसैगरी झापा क्षेत्र नं. ५ मा खुल्ला तर्फ अम्विकाप्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल निर्वाचित भए । युवा तर्फ युवराज पौडयाल (विवश) निर्वाचित भएका छन् ।

सम्बन्धित खबर