२०८२ मंसिर १३, शुक्रवार , ०१:५४:५१ बजे

Sajhamanch
'

लक्ष्मी माविको भवन १० वर्षदेखी अलपत्र, मौज्दात २८ लाख कहिले जम्मा होला

शुक्रवार, मंसिर १३, २०८२

झापा । झापाको अर्जुनधारा –६ स्थित लक्ष्मी माविमा १० वर्षअघि देखि निर्माण सुरु गरिएको भवन अझै अलपत्र छ । भवन निर्माणको कारोवार सम्बन्धी पुरानो विवाद समाधान नहुँदा भवन निर्माणको काम अलपत्र भएको हो ।

प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको कार्यकालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय झापाको बजेटबाट भवन निर्माण सुरु गरिएको थियो । विद्यालयको पश्चिम भागमा दुई तले भवन निर्माणको काम सुरु गरेर अहिलेसम्म अलपत्र पारिएको छ । वि.सं. २०७२ सालमा निर्माण सुरु गरिएको भवनमा पिलर उठाउने काम भएको थियो ।

वितेको १० वर्षमा पिलर बाहेक बाँकी काम अघि बढ्न नसकेको विद्यालयकी प्रधानाध्यापक निर्मला पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो भवनको मुद्धा अख्तियार पुगेको छ । अर्जुनधारा नगरपालिकाले कार्यपालिका बैठकमा निर्णय गरेर अख्तियारमा मुद्दा दायर गरेको हो ।

तत्कालिन प्रअ गुप्ताले भवन निर्माणको हरहिसाव विद्यालयलाई नबुझाई सरुवा हुनुभएको थियो। हाल झापा गाउँपालिकास्थित डिल्लीराज माविमा कार्यरत हुनुहुन्छ । सो भवन निर्माणका लागि ३६ लाख बजेट विद्यालयको खातामा आएको थियो । पिलर उठाउन ९ लाख ५६ हजार रुपैयाँ खर्च भएको विलभरपाई छ ।

बाँकी रहेको रकम विद्यालयको खातामा भेटिएन, प्रअ पोखरेलले भन्नुभयो – म अगाडिको प्रअ गुप्ता सरकै सामुन्ने भएको अडिटमा २८ लाख ६९ हजार मौज्दात भेटियो । त्यो रकमको जवाफदेहिता उहाँले लिनुपर्ने सामाजिक परीक्षकहरुले लेखिसक्नुभएको छ ।

विद्यालयको खातामा मौज्दात रकम नभेटिएपछि तत्कालिन प्रअ नै जिम्मेवार हुनुपर्ने अडिटमा खुलाइएको छ । सो रकमको जिम्मेवारी लिनुपर्ने भन्दै रकम जम्मा गर्न विभिन्न समयमा गुप्तालाई पत्र समेत पठाइएको थियो । पटक–पटकको ताकेतापछि सामाजिक परीक्षण गर्न सफल भएको लक्ष्मी माविले गुप्तासँगै जिल्ला प्रशासन कार्यालय, अर्जुनधारा नगरपालिकामा हिसावसहितको जानकारी पत्र पठाएको थियो । जिल्ला प्रशासनले हिसाव मिलाउन भन्दा समेत गुप्ताले अटेरी गर्दै वर्षौ बिताइसकेका छन् । सामाजिक परीक्षणको निष्कर्षमा गुप्ताले सो रकम विद्यालयलाई बुझाउनुपर्ने देखिन्छ । गुप्ताले मौज्दात रकम बुझाउनुको बदला पुनः अडिटको लागि माग गरेका थिए । हामीले सामाजिक परीक्षण गर्दा उहाँले बुझाउनुपर्ने देखियो, प्रअ पोखरेलले भन्नुभयो , पुनः अडिट गर्नुपर्ने कुनै कारण छैन ।

भवन अलपत्र भएपछि जिल्ला प्रशासन, नगरपालिका समेत पुगेको विद्यालय प्रशासन अहिले चुपचाप बसेको छ । विद्यालय प्रशासनले गर्न सक्ने सबै काम गरिसक्यौं, उहाँले थप भन्नुभयो – अब बाँकी काम अख्तियारले गर्छ । अख्तियारले पछिल्लो पटक यहाँ भएको प्रगतिका बारेमा सोधपुछ गरेको छ ।

भवन अभावले विद्यालयमा पठनपाठन प्रभावित भइरहेको छ । मावि तहको विद्यालयमा कार्यालय व्यवस्थापन समेत कठिन भएको उहाँको भनाई छ । सो भवन निर्माण अपुरै भएपछि शिक्षा कार्यालयमा समेत बेरुजु रहेको देखिन्छ ।

सम्बन्धित खबर