२०८२ मंसिर १२, बिहिवार , ०५:१२:४६ बजे

Sajhamanch
'

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात सहमति

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ ।

अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो ।

बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।

सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया बढाउने र जेभीए छिटो टुंंग्याउने सहसति समेत भएको छ ।

नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढरठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात अध्ययन गर्ने सहमति समेत बैठकमा भएको छ ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।

उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति जुटेको छ ।

नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा त्यसपछि नेपाली पक्षका लागि क्षमता अभिवृद्धि कार्यक्रम बंगलादेशमा सञ्चालन गर्ने सहमति भएको छ ।

नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त पहल गर्ने निर्णय समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर