
इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ ।
दृश्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।
अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृश्य देखिन्छ । पर्यटकले आँखैअगाडि सूर्य झुल्किँदाको दृश्यले छुट्टै आनन्दको महसुस गर्ने गरेका छन्।





