
झापा । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । ६.८४ मेगावाट क्षमताको आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन् ।
आयोजानमा सिद्धार्थ बैंकले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत एक अर्ब ४० करोड २५ लाख रुपैयाँ बराबर रहेको छ ।
कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४०.८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको ३.८ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ ।
पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।


