२०८२ कार्तिक २४, आइतवार , ०५:२९:५३ बजे

Sajhamanch
'

शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने

आइतवार, कार्तिक २४, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिनु भएको छ।

मन्त्रालयबाट आइतबार जारी सूचनामा उहाँले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत दायित्व र आचरणविपरीत राजनीतिक गतिविधि बढाएको गुनासो आएको भन्दै मन्त्री पुनले यस्तो गतिविधिले शैक्षिक गुणस्तर खस्किँदै गएको उल्लेख गर्नु भएको छ।

‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीको कर्तव्य, नैतिक दायित्व र आचरण सम्बन्धी कानुन स्पष्ट छन्’, उहाँले भन्नु भएको छ., ‘कुनै पनि पेशागत ऐनले तिनलाई सौदाबाजीबाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुने अधिकार दिएको छैन। यस्ता गतिविधि पाएमा कानूनी कारवाहीका लागि बर्खास्तगीसम्मको व्यवस्था छ।’

मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक र कर्मचारी संघलाई मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेको जानकारी पनि दिनु भएको छ।

मन्त्रालयले शिक्षक र कर्मचारीको पेशागत हकहित तथा संविधानप्रदत्त अधिकारको सम्मान गर्ने भए पनि ती संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक स्वरूपमा पुनर्गठन गर्न पनि उहाँले आग्रह गर्नु भएको छ।

पुनले शिक्षा क्षेत्र शान्ति क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै भन्नु भएको छ, ‘विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीत गतिविधि भए प्रचलित कानुनबमोजिम कडा कारवाही गरिनेछ।’

सम्बन्धित खबर