
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको नयाँ मापदण्डमा असहमति जनाएको छ ।
सङ्घका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले ल्याएको म्यानपावरबारेको नयाँ मापदण्ड व्यावहारिक नभएको बताउनुभयो । आफ्ना असहमति राखेपछि सरकारले आवश्यक राय मागेकाले छिट्टै भेला राखेर आफ्नो राय सङ्कलन गरिने उहाँले बताउनुभयो ।
केही दिनअघि मलेसिया सरकारले श्रमिकका लागि १० बुँदे मापदण्ड तय गरेको थियो । जसमा इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमा तीन हजार श्रमिक पठाएको अनुभव र प्रमाण, एजेन्सीहरूले पछिल्ला पाँच वर्षभित्र कम्तीमा तीन देशमा श्रमिक पठाएको, सम्बन्धित निकायबाट तालिम, मूल्याङ्कन, भर्ती र कामदार पठाउनेसम्बन्धी सबै वैध अनुमति प्राप्त गरेको हुनुपर्ने र आफ्नो देशका सम्बन्धित निकायबाट जारी गरिएको सदाचार (गुड कन्डक्ट सर्टिफिकेट) प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने लगायत मापदण्ड तोकेको थियो ।
नेपाल सरकारले मलेसियाको नयाँ श्रम सम्बन्धी मापदण्डबारेको विषय कूटनीतिक संवादबाट टुंगो लगाउने तयारी गरेको छ ।



