२०८२ असोज २७, सोमवार , ०१:१४:४३ बजे

Sajhamanch
'

विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी

सोमवार, असोज २७, २०८२

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज बन्धकहरू हस्तान्तरण गर्न थालेको हो ।

हमासले जीवित रहेका घोषणा गरेका २० मध्ये पहिलो चरणमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरेको छ । उनीहरू अपहरणमा परेको ७३८ दिनपछि मुक्त भएका बीबीसीले जनाएको छ ।

दुई वर्षअघि हमासले इजरायलमा आक्रमण गर्दा २५१ जनाको अपहरण गरी गाजामा बन्धक बनाएको थियो । उनीहरूमध्ये ४७ जना र अघिल्लो युद्धमा ज्यान गुमाएका एक सैनिकको शवसमेत गरी ४८ जना बन्धक हस्तान्तरण गर्न हमासले सहमति जनाएको छ ।

४८ मध्ये २६ जनाको ज्यान गइसकेको हमासले पुष्टि गरेको छ । २० जना जीवित रहेका छन् । बाँकी दुई जनामध्ये एक जना नेपालका विपिन जोशी पनि हुनुहुन्छ । जोशीसहित दुई जनाको नाम मृतक र जीवित दुवैतर्फ समेटिएको छैन ।

यसैबीच इजरायली सेनाले नेपालका विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी गराएको छ । बीबीसीसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले विपिन जीवित रहेको प्रमाण नभेटिएको औपचारिक जानकारी गराएको बताउनुभयो ।

हमासले बन्धक फिर्ता गरेपछि त्यसको बदलामा इजरायलले २५० जना प्यालेस्टिनी बन्दी र हिरासतमा लिइएका एक हजार ७०० जनाभन्दा धेरैलाई रिहा गर्ने बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर