
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक परिमाण बढाएको हो । नयाँ व्यवस्था अनुसार सुन आयातको दैनिक कोटा अहिलेको २० किलोबाट बढाएर २५ किलो पुर्याइएको छ ।
त्यस्तै राष्ट्र बैंकले विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको नयाँ परिपत्र अनुसार यी व्यवस्था लागू हुनेछ ।
अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नुनपर्ने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एक पटक वा पटक पटक) भुक्तानी गर्न सकिनेछ । पहिले यो सीमा २० लाख रुपैयाँ रहेको थियो ।
यसरी रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरू लिनुपर्नेछ । नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रूपमा हरेक महिना समाप्त भएको ७ दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।