२०८२ असोज २०, सोमवार , ०६:०६:३८ बजे

Sajhamanch
'

कोशीमा ४५ जनाको मृत्यु, २६ हजार विस्थापित, मेची राजमार्ग बाहेक अरू सुचारु

सोमवार, असोज २०, २०८२

विराटनगर । शनिबार साँझबाट आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयलाई उधृत गर्दै नेपालप्रेसका लागि सुमन पुरी लेख्छन्, बाढी र पहिरोबाट सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । इलाममा १७ पुरुष र २० महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको छ । यस्तै देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको छ ।

इलामकै माइजोगमाई गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी सन्दकपुर गाउँपालिकामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

पहिरोमा परि पाँचथरमा २ जना, उदयपुरमा २ जना झापामा २ जना खोटाङमा १ जना र मोरङमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोले पुरेर र खोलाले बगाएर पाँचथरको तुम्वेवा र फाल्गुनन्द गाउँपालिकामा गरी २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीय कान्छीमाया शेर्मा र फाल्गुनन्द गाउँपालिका ३ का १७ वर्षीय मिसेक नेम्वाङ रहेका छन् ।

शेर्माको घर माथिबाट आएको पहिरोले पुरेर मृत्यु भएको हो भने नेम्वाङको निबु खोलाले बगाउँदा मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोमा परि पाँचथरमा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा मिक्लाजुङ–३ सोलुम्बाकी ३७ वर्षीय मनमाया कार्की, फाल्गुनन्द ५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द–१ आलुवारीकी ७२ वर्षीय सुकमाया आङदेम्बे रहेका छन् ।

उदयपुरको बेलका–४ मा मदन भण्डारी राजमार्गको गाईघाट–चतरा खण्डमा खोलाको कजवे तर्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ ।

बा ४ ख १६२८ नम्बरको यात्रुवाहक हायस बाढीले बगाउँदा एक जनाको मृत्यु भएको हो । हायसमा २२ जना सवार थिए ।

त्यसमध्ये मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ३८ वर्षीय मञ्जु अधिकारीको बाढीले बगाएर मृत्यु भएको हो । अन्य २१ जनाको सकुशल उद्धार भएको छ । अर्का एक जनाको भने प्रहरीले नाम खुलाएको छैन ।

झापामा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं. ४ कोटीहोममा माई खोलाको बीच भागको डिलमा घोप्टो परेको अवस्थामा एक शव फेला परेको छ ।

उक्त शवको पहिचान हुन सकेको छैन । शनिबार बाह्रदशी गाउँपालिका वडा नं. ४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगलसिं मुर्मुको खोलाले बगाउँदा मृत्यु भएको छ । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण आएको भेलमा परेर विराटनगरमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१६ स्थित सुगर मिल नजिकैको कलभर्ट छेउको खाल्डोमा पानीको भेलले बगाउँदा भारत घर भई सोही स्थानमा डेरा गरी बस्ने ३५ वर्षीय अनिता राउतको मृत्यु भएको हो ।

खोटाङमा खोलाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका सुमन विश्वकर्माको मृत्यु भएको छ । उनलाई रावा बेसी गाउँपालिकास्थित हौँचुर खोलाले बगाएको थियो ।

२१ वर्षीय विश्वकर्मा रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित मावली घरमा दसैँको टिका लगाएर फर्किने क्रममा खोलाले बगाएको हो ।

कोशी प्रदेशमा बाढी र पहिरोका कारण १० हजारभन्दा बढी विस्थापित भएका छन् । उनीहरूलाई स्कुल तथा सार्वजनिक भवनमा राखिएको छ । विस्थापित भएकाहरू केही आफन्त र छिमेकीको शरणमा समेत रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले बताए ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घर विस्थापित भएका छन् । २६ हजार ९८४ जना विस्थापित भएका छन् । बाढी, पहिरो र डुबानमा फसेका ५३२ जनाको सकुशल उद्धार गरिएको छ ।

प्रहरीका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा १६ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर रहेका छन् ।
मोरंंगमा २५१ परिवारका १ हजार २० जना प्रभावित भएका छन् । तीमध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका छन् ।

मोरङमा केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विस्थापित भएको मोरङमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार विराटनगर–१२ बखरीमा ३५० विराटनगर–२ पूर्वटोलमा ३५ घर डुबानमा परेका छन् । विराटनगर–५ शंकरबारी टोलमा २० घर विराटनगर–८ मा ११ घर विस्थापित बनेका छन् ।

झापामा ५ हजार घर डुबानमा

अविरल वर्षाका कारण झापाका खोलाहरूमा आएका बाढीका कारण ५ हजारभन्दा बढी घर डुबेका छन् । बाढीका कारण झापाका विभिन्न पालिकाहरूमा २५ हजारभन्दा बढी विस्थापित बनेका छन् ।

सबैभन्दा बढी झापा गाउँपालिकामा ५ हजार ४ सयभन्दा घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै शिवसताक्षी, गौरीगन्ज, गौरादह, अर्जुनधारा र भद्रपुरमा पनि बाढीले प्रभावित गरेको छ । झापा गाउँपालिका पुरै जसो जलमग्न रहेको प्रहरीले जनाएको छ ।

सुनसरीका दक्षिणी पालिका जलमग्न

सुनसरीको विभिन्न नदी र खोलामा बाढी आउँदा सयौँ घर डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले जिल्ला सदरमुकाम इनरुवाको वडा नम्बर ३, ४, ९ बबिया र १० जल्पपुर सहित दर्जनौँ बस्ती जलमग्न भएका छन् ।

सुनसरी खोलाको बाढीले नै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ को उराव टोल, सदा टोल, मुस्लिम बस्ती, यादव टोल, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ को बाबा पेपर मिल, विभिन्न स मिल, टपरा टोल, मुस्लिम बस्ती र वडा नम्बर ७ को दास टोल, मण्डल र यादव टोल डुबानमा परेको छ । इनरुवा नगरपालिका १० को जल्पपुर सहित मरिया खोला किनारमा बस्ने मुस्लिम बस्ती डुबानमा परेको छ ।

मेची राजमार्ग अवरुद्ध अरू सुचारु

मेची राजमार्ग अन्तगत इलामका ठाउँ ठाउँमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको भए पनि मेची राजमार्ग अझै सञ्चालनमा समस्या रहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

इलामको राज दुवालीमाथिको सडकमा पहिरो झरेको छ । गोदक–माई खोला सडक खण्डमा धेरै स्थानमा पहिरो गएको छ । यस्तै इलाम चुरे घाँटीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ । इलामकै पुुवाखोलामाथि नेपालटारतर्फ पनि राजमार्गको केही भाग बगेको छ ।

मेची मार्गको कन्याम फिक्कल खण्डको पालटाँगे नजिकै कटुसे ओह्रालोमा बाटो पुरै अवरूद्द भएको छ ।

इलाम–झापा जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्घा सडकमा पर्ने पुवा खोलाको बेली ब्रिज पनि शनिवार रातिको बाढीले बगाएको छ । माई खोलाको बेलासे पुल पनि सवारी साधन सञ्चालन हुन नसक्ने गरी क्षतिग्रस्त भएको छ ।
यस्तै सिमल गोलाइ तिल्केनी सडकबिचको जोगमाई खोलामा बनाइएको बेलिब्रिज पनि बाढीले बगाएको छ ।

बाढीका कारण देउमाई नगरपालिका र माङ्सेबुुङ गाउँपालिकाबिच पर्ने देउमाई खोलाको पक्की पुलमा पनि क्षति पुगेको छ । गजुरमुखीमा पुलको आधा भाग बाढीले बगाएको छ ।

कोशी राजमार्ग अन्तरगत धरान र लेउतीमा पहिरो खसे पनि पहिरो हटाइएपछि सो सडक सुचारु भएको छ । बिहानैबाट सो सडकमा यातायात सञ्चालनमा रहेका छन् ।

पूर्व पश्चिम सडक खण्ड अन्तरगत झापामा बाढीले ड्राइभर्सन बगाएको भए पनि वैकल्पिक बाटो बाट सवारी साधन सञ्चालनमा ल्याएको छ । तमोर कोरिडोरको बाटो पनि आंशिक रूपमा सञ्चालनमा आएको छ ।

सम्बन्धित खबर