
काठमाडौं । संयुक्त अरब इमिरेट्स ९युएई० को अबुधाबीमा रहेको नेपाली दूतावासले विभिन्न पेसा तथा व्यवसायमा युएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
युएईमा कार्यरत नेपाली पछिल्लो समय श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम, स्वतन्त्र भिसाको दुरूपयोगमा संलग्न भएका पाइएको भन्दै दूतावासले सचेत गराएको हो । युएईले नेपालीका लागि अनौपचारिकरुपमा श्रम र भिजिट भिसा बन्द गरेको अवस्थामा दूतावासको पछिल्लो ११ बुँदे सूचना आएको हो ।
दूतावासले पासपोर्ट, इमिरेट्स कार्ड वा बैंकिङ कागजात अरूलाई नदिन, फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत अनुचित पोस्ट नगर्न, अनाधिकृत संस्था वा समूह गठन नगर्न, आपसी ऐक्यबद्धता, सद्भाव र सहकार्यका आधारमा नेपाली समुदायलाई एकताबद्ध राख्न पनि आग्रह गरेको छ । दूतावासले नियम उल्लंघन गरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ ।