२०८२ असोज १, बुधवार , १२:२२:०६ बजे

Sajhamanch
'

जेनजी आन्दोलन : कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुग्यो

बुधवार, असोज १, २०८२

विराटनगर । जेनजी आन्दोलनपछि कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ। भदौ २३ र २४ गतेको झडप र आगजनीमा ज्यान गुमाउनेमध्ये ५ जनाको मात्रै सनाखत भएको छ।

मृतक ५ जनाको पहिचान खुल्न बाँकी रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताउनु भयो। उहँका अनुसार पहिचान नखुलेका शवलाई हालसम्म कसैले पनि दाबी गरेका छैनन्। उहाँले भन्नुभयो, ‘मृतकको संख्या १० पुगेको छ। ५ जनाको पहिचान भएको छ। ५ जनाको हुन बाँकी छ। आफन्त वा परिवारका सदस्य सम्पर्कमा आएका छैनन्।’

पोखरेलका अनुसार पहिचान भइसकेकामा झापाको अर्जुनधारा नगरपालिका–८ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका–२ घर भई बिर्तामोडमा बस्दै आएका ३५ वर्षीय कमल भण्डारी, सुनसरी इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदार (चंखे) रहेका छन्।

राजवंशीबाहेक अन्य ४ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको हो। अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा ४ जनाको शव फेला परेको थियो।

शुक्रबार भेटिएका शवहरु नचिनिने अवस्थामा रहेको र अहिलेसम्म कसैले आफन्त हराएको भनेर दाबी नगरेको एसएसपी पोखरेलले बताउनु भयो। आगजनीपछि लुटपाट गर्न प्रवेश गरेका व्यक्तिहरूको आगोले जलेर मृत्यु भएको प्रहरीको अनुमान छ। शवहरुलाई पोस्टमार्टम गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ।

सम्बन्धित खबर