
धरान । धरानस्थित भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । ती शव जलेर नचिनिने अवस्थामा भेटिएको हो ।
जेनजी आन्दोलनका नाममा अराजक समूहले धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो झोसेको थियो । भित्र तीनवटा शव जलेको अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए ।
आगो निभेसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ । यस्तै केही बेरअघि अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको खड्काले बताए ।
मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा ३ जना फसेको भन्दै हल्ला फैलिएको थियो । भाटभटेनीको फ्रिज नजिकै आफूहरु लुकेर ज्यान बचाउँदै गरेको भनी दुईजनाले आफन्तलाई फोन गरेको चर्चाका बीच तीनवटा शब भेटिएका हुन् ।
फसेका व्यक्तिका आफन्तजनहरूले अनौपचारिकरूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । भाटभटेनीमा लागेको आगो हिजो साँझमात्र निभेको थियो ।