
काठमाडौँ । २२औँ निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना व्यक्त गर्दै सेवा प्रवाहमा देखिएका झन्झटपूर्ण प्रक्रियामा तत्काल सुधार ल्याउन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी निजामती सेवाकै भएकाले बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षाअनुसार निजामती सेवाले आफूलाई रूपान्तरण गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ। नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ। टेबल र कुर्चीबाट मात्र होइन, प्रविधिबाट सेवा विस्तार गर्नुपर्ने बेला आएको छ।’
पछिल्लो दिनमा निजामती सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुस्ख दिने कार्य सरकारलाई सहय नहुने स्पष्ट पार्नुभएको छ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भावमार्फत मात्र राज्यले जनविश्वास जित्न सक्ने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको छ।
प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन निजामती विधेयक कर्मचारी वर्गको उन्नयनसँगै संघीयताको डेलिभरीमा नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले डिजिटल रूपान्तरण, ई–गभर्नेन्स, तथ्याङ्कमा आधारित नीति निर्माण र सहज अनलाइन सेवा प्रवाहलाई निजामती सेवाको प्रमुख दायित्वका रूपमा औंल्याउनुभयो।
राज्यका सेवालाई छरेर नभई एकैबिन्दुमा एकीकृत गरेर नागरिकको घरदैलोमा पुग्नुपर्ने बेला भएकाले नागरिक एपका माध्यमबाट सरकारले सेवालाई एकीकृत गर्ने नीति लिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ।
सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरी सर्भिस म्यापिङ गरी नागरिकका आवश्यकताका आधारमा संस्थागत र नीतिगत पुनरावलोकन गरी सार्वजनिक खर्च, कार्यालय तथा दरबन्दी कटौतीमा जोड दिँदै आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्रोत साधनको सर्वोतम उपयोग गर्ने र पारदर्शी प्रशासनिक अभ्यासलाई संस्थागत गर्ने कार्यमा निजामती सेवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा यात्रामा राष्ट्रसेवक कर्मचारीहरूको प्रतिबद्धता र सिर्जनशीलता अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्पूर्ण निजामती कर्मचारीलाई व्यावसायिक, पारदर्शी, नवप्रवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणमा उच्च मनोबलसहित क्रियाशील रहन आग्रह गर्नुभएको छ।
दिवसको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती परिवारलाई सफलताको शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यका लागि शुभेच्छा प्रकट गर्नुभएको छ।