२०८२ भदौ २१, शनिवार , ०२:२५:४६ बजे

Sajhamanch
'

मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियनलाई प्रदान गरिने ट्रफी सार्वजनिक

शनिवार, भदौ २१, २०८२

झापा । यही भाद्र २७ र २८ गते हुने तेस्रो मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियनलाई प्रदान गरिने ट्रफी सार्वजनिक गर्दैे सबै तयारी पूरा भएको जनाइएको छ ।

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिएको राष्ट्रिय स्तरको उक्त प्रतियोगिताको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

तेस्रो मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले प्रतियोगितामा करिब १५० जना खेलाडीहरु सहभागी हुने जानकारी दिनुभयो । उक्त संख्याका प्रतियोगीहरुमाझ ६ विधामा खेल हुनेछ र अन्तिम राउण्डको लागि ३६ जना प्रतियोगीहरु रहने उहाँले बताउनु भयो ।

ओभरअल प्रतियोगितामा ६ जना विजयी बन्नेछन् । जसलाई क्रमशः ५ लाख, ३ लाख, २ लाख, १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने सो अवसरमा जानकारी दिइयो । महिलाको लागि पनि अलग्गै प्रतियोगिता हुने जनाइएको छ ।

‘प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ,’ अध्यक्ष पराजुलीले भन्नुभयो ‘हालसम्म दाताहरुले मौखिक बचन मात्र दिनु भएको भए पनि रकम अभावले नै प्रतियोगितामा अवरोध हुँदैन ।’

भदौ २७ गते १ बजे बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले समुद्घाटन गर्नुहुने प्रतियोगितामा २८ गते हुने अन्तिम प्रतियोगिताका विजयी खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पुरस्कार तथा ट्रफी प्रदान गर्नुहुने सो अवसरमा जानकारी दिइयो ।

कोशी प्रदेशभन्दा बाहिरबाट प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बसोबास र यातायातको व्यवस्था मिलाइएको अध्यक्ष पराजुलीको भनाई छ ।

शारीरिक सुगठनका लागि नेपालको धर्मश्री प्रतियोगिता जस्तै चर्चित स्पर्धा बनाउने उद्देश्यसहित झापामा मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने गरिएको आयोजक बडी ग्यारेज जिम हाउनसका सञ्चालक राम दाहालको भनाई छ । तेस्रो चरणको प्रतियोगिता सञ्चालन गर्दै गर्दा धेरै खेलाडीहरु नयाँ जोडिएको उहाँको भनाई छ ।

पत्रकार रमेश तिवारीले सहजीकरण गर्नुभएको पत्रकार सम्मेलनमा मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगिताका सचिव सन्तोष उप्रेतीले शाब्दिक स्वागत गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा व्यवसायी टिकाराज ढकाल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र आयोजक समितिका पूर्व अध्यक्ष अर्जुन मैनालीले प्रतियोगितालाई राम्रो बनाउन आफूहरुको तर्फबाट पर्याप्त सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

सम्बन्धित खबर