
- सञ्जु सिवाकोटी
भनिन्छ घर बलियो बन्छ जगले, देश बलियो बन्छ प्रारम्भिक बाल विकासले । हो, जसरी घर निर्माण गर्न बलियो जग आवश्यक पर्छ, त्यसरी नै देश निर्माणका लागि प्रारम्भिक बाल विकास बलियो, दह्रो वा मजबुद हुनुपर्छ । बालबालिका भनेका काँचो माटोजस्तै हुन् । उनीहरूलाई जस्तो बनायो, उस्तै बन्छन् । हामी वा अभिभावकलाई यो सानो उमेरमा बच्चाले के सिक्छ र भन्ने लागे पनि मानव जीवनको पहिलो ८ वर्ष नै हो बच्चाको मस्तिष्क, व्यवहार, सोच र विकासका लागि सबैभन्दा महत्वपूर्ण समय । यो कुरालाई पनि नबिर्सौं ।

सञ्जु सिवाकोटी
त्यस्तो संवेदनशील उमेरका बच्चाहरुलाई क, ख, ग, ए, बी, सी, डी सिकाउन आफू पनि सानो बच्चा नै भएर, अक्षर अक्षर गरेर शब्द चिनाउन कहाँ सजिलो छ र ? त्यो ठाउँमा आफूलाई राखेर हेरौं त म सक्छु या सक्दिन ? बाल शिक्षक भनेको बच्चाको पहिलो साथी अनि पहिलो प्रेरणाको स्रोत हो । एउटा सानो बच्चा आमाको काख छोडेर विद्यालयको ढोकामा रुँदै उभिन्छ, त्यो बच्चालाई हँसाएर खुसी बनाउँदै कक्षामा लैजाने अनि सुन्दर भविष्यको ढोका खोलिदिने बाल शिक्षक नै हुन्छन् । सायद त्यो खुबी, क्षमता, त्यो कुशलता, त्यो धैर्यता र अब्बलता पुरुष शिक्षकमा हुँदैन । त्यसैले त प्रत्येक इसिडीमा महिला शिक्षक कै सहभागिता रहेको पाइन्छ ।
विश्वको कुरा गर्ने हो भने विकसित राष्ट्रहरूमा बाल शिक्षकहरू अनुभवी र उच्च योग्यता प्राप्त हुन्छन् । उनीहरूको कामलाई सम्मान, उचित तलब र पेशागत विकासको अवसर दिइन्छ । बाल विकास केवल शिक्षा होइन, समाज निर्माणको आधार मानिन्छ । बालबालिकाको समुचित विकास नै दीगो, समृद्ध र समानतामूलक समाज निर्माणको मूल कुरा हो भन्ने बुझाइले गर्दा उनीहरू विश्वमा उदाहरणीय बनेका छन् । तर, हाम्रो देशमा ठीक उल्टो भइरहेको छ ।
केही समय अघि कुराकानीको क्रममा बिर्तामोड कै एक विद्यालयकी बाल शिक्षकको गुनासो यस्तो पाएकी थिएँ ५०० रुपैयाँबाट शुरू गरेको सेवा अहिले १५ हजार तलब भएको छ । अलिकति तलब बढेको जस्तो देखिए पनि पनि महँगीले त्यस्तो लाग्दैन । त्यो पनि समयमा आउँदैन । हाम्रो मेहेनत र दुःखको अगाडि त्यो तलब फिक्का लाग्छ । कतिपय अभिभावकको कुरा सुन्छु बच्चा हेर्नको गाह्रोले नै २ वर्ष नपुग्दै बाल कक्षा ल्याएको भन्नु हुन्छ । उहाँहरुलाई एउटा नानी हेर्न कठिन हुन्छ अनि छिटै ल्याएको भन्नु हुन्छ ।
हामीले नानीहरूको हेरचाह त गर्नु नै छ त्यो सँगै पढाउनु र सिकाउनु पनि छ । त्यो पनि एक जनालाई मात्र होइन, धेरैलाई । एउटा बच्चा रुन थाल्यो भने सबै रुन्छन् । एउटाले बाहिर जानु परे सबैले निस्कनु पर्छ । एउटाले खेल्नु परे सबैले खेल्नै पर्छ । कतिलाई खुवाइदिनु पर्छ । सुरु सुरुमा त मेरो स्वर नै भासिन्थ्यो । धेरै बोल्नु परेर अहिले बानी भएको छ । धेरै गाह्रो भएता पनि हामीले जति सम्मान र इज्जत पाउनु पर्ने हो त्यो पाउँदैनौं । ठूला कक्षाका शिक्षक मात्रै वास्तविक शिक्षक हुन् भन्ने सोच प्राय सबैको रहेको पाइन्छ ।
उनी भन्छिन्, सबै विद्यालयलाई भन्न मिल्दैन, अभिभावकले पनि सम्मानपूर्वक हेर्नुहुन्छ । कतिपय विद्यालयमा शिक्षकको तर्फबाट नै बाल शिक्षकलाई हेप्ने गरेको पाइन्छ । उहाँहरूले नै बाल शिक्षकले के गर्या छ र ? त्यो बच्चालाई हेर्नु त छ नि । अरु के जान्या छ र कति सजिलो काम जस्तो गर्नु हुन्छ । जबकि पहिलो शब्द चिनाउन नै बाल शिक्षक हो भन्ने कुरा बिर्सनु हुन्छ । हाम्रो दुःख र मेहेनत धेरै छ, योगदान धेरै छ, तर त्यसको कदर भएको छैन । न विद्यालय, न समाज, न राज्य । जति कम पारिश्रमिक पाएका छौं, त्यो पारिश्रमिकभन्दा कम सम्मान पाएका छौं ।
उनको गुनासो यत्तिमात्रै रहेन छ । थपिन्, पैसा नै सबथोक होइन रहेछ । सायद, बच्चासँगको आत्मीयता सदभाव, माया, अपनत्व, बच्चाको हाँसो, खुसी, मुस्कान नै मैले पाएको धेरै र बहुमूल्य तलब हो। उनीहरूको मुस्कानमा हाम्रो खुसी लुकेको छ । उनीहरूले शब्द उच्चारण गर्न सक्दा आफूलाई संसार जिते झै लाग्छ । खुसीले रातभरि निन्द्रा लाग्दैन । कहिले काँही त सपनामा पनि बच्चा नै हाँसेको, खेलेको र रोएको देखिन्छ । बच्चा नै हाम्रो सबथोक हो । त्यसैले त कम तलब र बढी जिम्मेवारी भएपनि हामी यो कर्मबाट टाढिएर बस्न सक्दैनौं ।
नेपालजस्तो विकासोन्मुख देशमा शिक्षा सुधारको लागि धेरै अगाडिबाट छलफल, बहस चलि नै रहेको छ। तर शिक्षा क्षेत्रको मूल जग भनेकै बाल शिक्षा हो । त्यो नै कमजोर हुँदा माथिल्लो तल्ला बनाउने प्रयास गर्नु भनेको व्यर्थजस्तै भइरहेको छ। बाल शिक्षा शिक्षाको पहिलो खुड्किलो हो, तर यही नै सबैभन्दा बढी अपहेलित छ । जबकि यही चरणमा गरिने लगानीले बच्चाको सुन्दर भविष्यको निर्माण गर्छ।
बाल शिक्षकहरू हेर्दा साधारण, सामान्य लाग्न सक्छन् । तर उनीहरूको हातमा राष्ट्रको असल नागरिक निर्माण गर्ने बीउ हुन्छ । त्यसैले सबैले बुझ्न, मनन गर्न आवश्यक छ कि बाल शिक्षकको मूल्य र महत्वलाई चिनौं, बुझौं । बाल शिक्षक मात्र सहयोगी होइनन्, शिक्षाको क्षेत्रमा मेरुदण्ड मानी उचित तलब, सम्मान र तालिमको व्यवस्था गरौँ । समाजले व्यवहारमा र सरकारले नीतिलाई प्राथमिकता दियोस् ।