
रामेछाप । पुष्पलाल राजमार्ग अन्तर्गत मन्थली–खिम्ती सडक आज बिहानदेखि अवरुद्ध भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ हलेदे नजिकै झन्डै २० मिटर सडक भासिएपछि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा गाडी चल्न सकेका छैनन् ।
तामाकोशी नदीले सडक तलको जमिन कटान गर्दा सडक भासिएको हो । यो सडक हुँदै उमाकुण्ड, गोकुलगङ्गा, लिखु तामाकोशी गाउँपालिका र छिमेकी जिल्ला दोलखाको शहरे, तामाकोशी र मेलुङ्ग गाउँपालिकाबाट छुटेका यात्रु बस चल्ने गर्छन् ।
छिमेकी जिल्ला दोलखा हुँदै काठमाडौं आवतजावत गर्नुभन्दा यो सडकबाट छोटो दुरी पर्ने भएकाले धेरैले यहि सडक प्रयोग गर्दै आएका छन् । सडक भासिएको ठाउँमा खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।