२०८२ भदौ ३, मङ्गलवार , ०३:३१:१६ बजे

Sajhamanch
'

अस्ट्रेलियामा नेपालको पहिलो जीत, होबर्टलाई ६६ रनले हरायो

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा पहिलो जीत निकालेको छ । पार्मस्टनमा आज भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्टले १६ ओभर १ बलमा ११४ रन बनाउँदा सबै विकेट गुमायो । होबर्टका ब्राडली होपले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका नन्दन यादवले ५ तथा कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र र कुशल भुर्तेलले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो । नेपालका आरिफ शेखले ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले ११ बलमा नटआउट २५ रन जोडे । होबर्ट हरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २/२ विकेट लिए ।

टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका ३ वटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

सम्बन्धित खबर