
दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य वा सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि (पिएचडी) गर्न चाहेमा एक लाख रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ ।
संस्थाको ३१औँ वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष नारायणप्रसाद भट्टराईले सदस्यहरुको सेवा सुविधा वृद्धिको प्रस्ताव गर्दै यस्तो योजना सुनाउनु भएको हो ।
हरेक वर्ष साउन २८ गते वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्ने प्रचलनलाई निरन्तरता दिँदै मेची सहकारीले चालू वर्षदेखि संस्थाको कार्यक्षेत्र भित्र एसईईमा जिल्ला प्रथम गर्ने एक विद्यार्थीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने र ४ जिपिए ल्याउने विद्यार्थीलाई २५ हजार रुपैयाँ पुरस्कारको प्रस्ताव पनि गरिएको छ ।
चालू वर्ष मेची सहकारी आवास–२ कार्यक्रमलाई समेत ५ करोड रुपैयाँ बजेट विनियोजनको प्रस्ताव गरिएको छ । संस्थाले एकीकृत बस्ती विकासको अवधारणा अनुरूप दुई वर्ष अघि २८ वटा आवास निर्माण गरी सदस्यहरूलाई बिक्री गरेको थियो । दोस्रो चरणमा सदस्यहरुको मागका आधारमा स्थान चयन गरिने बताइएको छ ।
यस्तै संस्थाले मेची सहकारी जल उद्योग दर्ता गरी उद्योगमा मेसिनरी औजार जडान गर्ने कार्य भइरहेको र आगामी मंसीरदेखि व्यवसायिक उत्पादन सुरु गरिने सहकारी संस्थाका अध्यक्ष भट्टराईले बताउनु भयो । संस्थाले उद्योग दर्ता गरी पानी ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ ।
वर्तमान अवस्थामा संस्थामा पर्याप्त तरलता मौज्दात रहे पनि कर्जा लगानी नभइरहेकाले बहुउद्देश्यीय प्रकृतिका व्यवसायिक योजनामा लगानी बढाउँदै लैजाने नीति अंगिकार गरी पानी उद्योग स्थापना गर्न लागेको प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालले बताउनु भयो ।
यसैगरी, सहकारी विद्यालय सञ्चालनका लागि समेत संस्थाले प्रारम्भिक अध्ययन सुरु गरेको र त्यसका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।
सहकारी संस्थाले खाली रहेका जग्गाहरू भाडामा लिएर फलफूलका बिरुवा रोप्ने समेत नीति अघि सारेको छ । त्यसका लागि करिब २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
१२ वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय सेवा दिँदै आएको मेची सहकारीमा १७ हजार ८१७ जना सेयर सदस्य छन् । चालु आर्थिक वर्षमा दुई हजार भन्दाबढी सदस्य थप्ने संस्थाको योजना छ । यसैगरी, ३९ करोड ७० लाख रूपैयाँ सेयर पुँजी रहेको संस्थामा सदस्यहरूको ३ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ निक्षेप बचत मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा संस्थाले ६ करोड ५७ लाख मुनाफा गरेको प्रमुख कार्यकारी अधिकृत बगालेले बताउनु भयो । सोही आधारमा करिब ७ प्रतिशतका दरले सदस्यहरुलाई सेयर बोनस प्रदान गरिने योजना रहेको बताइएको छ । मेची सहकारीले गतवर्ष विभिन्न शीर्षकमा राज्यलाई २ करोड ७४ लाख रुपैयाँ कर तिरेको प्रतिवेदनमा उल्लेख छ ।