
इलाम । इलाम नगरपालिका ११ को सोयाकस्थित घोर्ले भीरमा पहिरो खस्दा केचना-कञ्चनजंघा सडक मार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो खस्दा इलामको गोलाखर्क हुँदै झापा जाने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि उक्त सडक भएर इलामबाट झापा र झापाबाट इलाम आउने सवारीसाधन संचालन हुन नसकेको स्थानीय वसन्त फागोले जानकारी दिनुभयो । लगातार वर्षा हुँदा सडकमा पहिरो खस्नेक्रम जारी रहेको छ ।
निर्माणाधीन राजमार्गको लोदिया–पुवाखोला खण्डको विभिन्न स्थानमा सडक हिलाम्मे भएपछि सवारी साधन सञ्चालन गर्न समस्या भएको छ ।
मेचीराजमार्गको विकल्पको रूपमा रहेको झापा जोड्ने छोटो दुरीको यात्रा उक्त मार्गको विभिन्न खण्डमा निर्माण व्यवसायीले काममा ढिलाइ गरेकाले समस्या भएको स्थानीयको आरोप छ ।
सडक खण्डको पुवाखोलामा बेलिब्रिज निर्माण भएको छ । सोयाकको ठाडेखोलामा बक्स कल्भर्ट निर्माणाधीन अवस्थामा रहेको छ ।
झापा झर्न छोटो दुरीको यात्रा भएकाले इलाम सहित पाँचथर, ताप्लेजुङ र तेर्हथुमको आठराई क्षेत्रमा आउजाउ गर्ने सवारी साधन यहि सडक प्रयोग गर्ने गरेका छन ।
रातीदेखिको अविरल वर्षाका कारण इलामको माईखोलामा जलसतह बढेपछि स्थानीय प्रशासनले सर्तकता अपनाउन आह्वान गरेको छ ।