
काठमाडौं । आज कोशी प्रदेशका सबै जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै मधेश प्रदेशका सिरहा, सप्तरी, रौतहट, सर्लाही जिल्ला तथा बागमती प्रदेशका सिन्धुली, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवामा पनि बाढी आउन सक्ने महाशाखाको चेतावनी छ ।
गण्डकीका लमुजुङ, पर्वत, बाग्लुङ, म्याग्दी र लुम्बिनी प्रदेशका प्यूठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिममा पनि बाढीको सम्भावना छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी र बैतडीमा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
बाढीको जोखिम जिल्ला तथा आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।
आज कोशी प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका धेरै ठाउँ र मधेश प्रदेशलगायत अरू प्रदेशका तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कर्णाली र सुदूरपश्चिमबाहेकका अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।