२०८२ साउन २६, सोमवार , ०२:०२:४२ बजे

Sajhamanch
'

गण्डकी प्रदेशमा ७ निर्देशनालय र २ केन्द्र खारेज, १८५ कर्मचारी दरबन्दी घटाइयो

सोमवार, साउन २६, २०८२

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र खारेजसँगै १८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउने लक्ष्यका साथ यो निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

निर्णयसँगै खारेज गरिएका निर्देशनालयहरूबाट प्रवाह हुँदै गरेका काम तथा सेवाहरू आउँमी दिनमा मन्त्रालयका महाशाखाहरूबाटै उपलब्ध गराउने जानकारी दिँदै उहाँले यसबाट सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभयो ।

त्यस्तै जिल्लास्तरका ३२ निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । निर्णय अनुसार खारेज हुने निर्देशनालयहरूमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय रहेका छन् ।

खारेज भएका केन्द्रमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र रहेका छन् । यसअघि प्रदेशको विद्यमान प्रशासनिक संरचना बोझिलो भएको र खर्च धान्न नसकिने अवस्था आएको भन्दै सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले दिएको प्रतिवेदन अनुसार प्राप्त सुझावका आधारमा यो निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रतिवेदनलाई आवश्यकता र औचित्यका आधारमा क्रमशः कार्यान्वयन गर्दै लाने सन्दर्भमा यो कदम चालिएको उल्लेख गर्दै उहाँले यसबाट संरचनागत सुधार, चालू खर्च कटौती, छरितो प्रशासनसँगै मितव्ययी एवम् सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास लिइएको बताउनुभयो ।

सरकारले १८५ जना कर्मचारीको दरबन्दी घटाएकोमा अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ रहेको जनाएको छ ।

सम्बन्धित खबर