२०८२ साउन २३, शुक्रवार , ०२:४७:३३ बजे

Sajhamanch
'

भारतबाहेकका देशबाट हुने सेवा आयातका लागि अब एक पटकमा ८ हजार डलरको सटही सुविधा

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन’ संशोधन गरेको छ । अब भारतबाहेकका देशबाट सेवा आयात गर्दा एक पटकमा ८ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध हुनेछ । यसअघि यो सीमा ५ हजार डलर थियो ।

साथै नियामक निकायको सिफारिशमा वाणिज्य बैंकहरूले १५ हजार डलरसम्म सटही सुविधा उपलब्ध गराउन सक्नेछन् । यस्तो सुविधा यसअघि १२ हजार डलरमा सीमित थियो ।

नेपालमा कार्यरत विदेशी नागरिकले अब कर तिरेपछि आफ्नो सम्पूर्ण पारिश्रमिक स्वदेश लैजान पाउनेछन् । पहिले यो सीमा करपछिको ७० प्रतिशतमात्र थियो । साथै सञ्चय कोष, उपदानलगायतका अन्य भुक्तानीसमेत कर कट्टीपछि सम्पूर्णरूपमा लैजान सकिने व्यवस्था गरिएको छ ।

नयाँ संशोधित व्यवस्था अनुसार राष्ट्र बैंकको स्वीकृतिमा अमेरिकी डलर १५ हजारभन्दा माथिको भुक्तानीका लागि भने नियामक निकायको सिफारिशसहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति अनिवार्य चाहिने छ ।

नियामक निकाय नभएको वा सिफारिश हुन नसकेको अवस्थामा अमेरिकी डलर ८ हजारभन्दा बढीको भुक्तानीका लागि पनि विभागको स्वीकृति आवश्यक पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्भे र भ्यालुएशन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने गरी समेत व्यवस्था भएको छ ।

सम्बन्धित खबर