
इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु. १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु. १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।
कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु. दुई करोड ४९ लाख ४१ हजार ८३९ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा रु. ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयले सवारी साधन वार्षिक करबाट रु. नौ करोड ९६ लाख तीन हजार ४४२ सङ्कलन गरेको छ । सवारी दर्तारनामसारी/नवीकरणबाट रु. ७२ लाख तीन हजार ५५५ सङ्कलन गरेको छ । त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट रु. एक लाख २८ हजार २०० सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिनुभयो ।
त्यस्तै आयकरबाट रु. ३७ लाख ८५ हजार ५९० सङ्कलन गरेको छ । कार्यालयले चालक अनुमतिपत्रबाट रु. एक करोड ४३ लाख १७ हजार तीस सङ्कलन गरेको छ ।
त्यसैगरी नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु. एक करोड छ लाख १७ हजार तीस राजस्व सङ्कलन भएको छ ।
इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट रु. एक करोड तीस लाख ७२ हजार २३० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु. ५१० र मोटरसाइकलको रु. २१० राजस्व लिने व्यवस्था गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।
यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताउनु भयो ।