
काठमाडौं । मधेशमा सिँचाइको दिगो समाधान हुने विश्वास लिइएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको काममा चरम ढिलाइ भएको छ ।
चिनियाँ ठेकेदार कम्पनीले तोकिएको समयभन्दा अगाडि नै सुरुङ निर्माण गरे पनि बाँकी कामको जिम्मा लिएको ठेकेदार कम्पनीका कारण ढिलाइ भएको हो । अन्य संरचना निर्माणको जिम्मा लिएको पटेल रमण जेभी कन्सट्रक्शनले आधा समय सकिँदा १० प्रतिशतमात्रै काम गरेको छ ।
काममा भइरहेको ढिलाइबारे बुझ्न निर्माण स्थलमा पुगेको मधेश प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले पाएको जानकारी अनुसार कुल प्रगति ३६ दशमलव ८३ प्रतिशत भए पनि सुरुङबाहेकको प्रगति १० प्रतिशतमात्रै भएको हो ।
ठेकेदारको ढिलाइका कारण कार्यप्रगति कमजोर रहेको आयोजनाका प्रमुख अच्युतराज गौतमले जानकारी गराउनुभयो । मुख्यमन्त्री सिंहले आयोजनाको प्रगति र अवरोधबारे जानकारी लिँदै निर्माण व्यवसायी कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ७ कानढुङ्ग्रीबाट सुनकोशीको पानी सुरुङमा पठाइने छ । झन्डै ६७ क्युसेक पानी सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा रहेको मरिण खोलामा खसाल्ने योजना छ ।
त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झन्डै १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ ।
आयोजनाबाट ३१ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । ५० अर्ब लागत अनुमान रहेको आयोजनामा अहिलेसम्म १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ ।