
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पर्सि आइतवार तुर्कमेनिस्तान जानु हुने भएको छ । तुर्कमेनिस्तानको अवाजा शहरमा हुने भूपरिवेष्ठित विकासशील देशहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतवार त्यसतर्फ प्रस्थान गर्नु हुने भएको हो ।
यही साउन २० देखि २३ गतेसम्म अर्थात् (अगस्ट ५ देखि ८ तारिख) सम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । उहाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य कार्यक्रम र भेटवार्ता पनि गर्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।