
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ।
आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा भेट्दै सभामुख घिमिरेले विगत नेपालीहरूले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गर्नु भएको हो ।
सभामुख घिमिरेले भने, ‘निरङ्कुश राजतन्त्रको साँघुरो घेराभित्र नेपाल छटपटाइरहेको एउटा अप्ठ्यारो स्थितिमा त्यहाँ कुनै वाक स्वतन्त्रता थिएन । अर्थात् नेपाली जनता एउटा निरङ्कुश शासनको जाँतोमुनि पिल्सिएका थिए । आर्थिक स्थिति पनि मेरो बुझाइमा धेरै कमजोर थियो । अन्य सामाजिक, सांस्कृतिक स्वतन्त्रताका कुराहरूमा पनि त्यस्तै अवस्था थियो । त्यही बेलामा हामीले पहिलो चरणको स्वतन्त्रता प्राप्त गर्दै थियौँ । त्यो भनेको पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था थियो, त्यही बेला भुटानबाट ठुलो सङ्ख्यामा नेपाली मूलका धेरै नागरिकहरू लखेटिनु भयो । उनीहरूलाई स्वागत गर्नको लागि नेपाली जनताले फूलमाला लगाएर स्वागत गरेका थिए । फिर्कने कोसिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरू राखेर जान दिएन । हामी नेपाली र नेपाली मूलको भएको कारणले भुटान पुगे पनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्यो । त्यस कारण राष्ट्रियता के रहेछ भन्ने कुरामा भुटानी शरणार्थीहरू अझ धेरै अनुभव गर्नुभएको छ ।’
उहाँले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठुलो भूमिका खेलेको बताउनु भयो । संसारभर रहेका नेपालीहरूलाई गाँस्ने प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताउनु भयो । उहाँले निर्माणाधीन नयाँ संसद् भवनको चाडै निर्माण सम्पन्न गर्न लक्ष्य राखे पनि विभिन्न कारणले अझै निर्माणकै क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँले कलाकारहरूलाई सांसदहरूको सङ्ख्या र पुरानो भवनबाट सभा सञ्चालन गर्न असम्भव भएका कारण बानेश्वरको सम्मेलन केन्द्रलाई भाडामा लिएर सङ्घीय संसद्को सभा सञ्चालन भइरहेको जानकारी गराउनु भयो ।