
काठमाडौं । कोशी, मधेस, बागमती र गण्डकीका धेरै ठाउँ तथा लुम्बिनी र कर्णालीका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो वर्षा पनि भएकाले नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुङ्गा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुनसक्ने उच्च सम्भावना छ ।
त्यसैगरी सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रे, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।