
काठमाडौं । नेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको छ ।
यो तथ्यांकले के देखाउँछ भने सवारी दुर्घटनामा परी एक दिनमा औसत ७ जनाको मृत्यु हुन्छ । दुर्घटनामा परी मर्नेको संख्या मधेश प्रदेशमा बढी रहेको उहाँले बताउनु भयो ।
महानिरीक्षक थापाका अनुसार आव २०८०/८१ को भन्दा आव २०८१/८२ मा अपराधका घटनाहरूमा वृद्धि भएको छ ।
शुक्रबारको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को भन्दा आव २०८१/८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो ।
उहाँका अनुसार २०८०/८१ को असार मसान्तसम्म देशभरि ५८ हजार ४७० वटा मुद्दा दर्ता भएको थियो । आव २०८१/८२ मा ५९ हजार २०४ घटना दर्ता भएका छन् ।
सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कूल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १७२ रहेको छ ।
त्यसपछि सबैभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् ।
महानिरीक्षक थापाले भन्नुभयो, ‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०/८१ को असार मसान्तसम्म देशभरि ५८ हजार ४७० वटा मुद्दा दर्ता भएको थियो । अहिले ५९ हजार २०४ घटना दर्ता भएको छ ।
गत वर्षभन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ । केही मुद्दाहरू देवानी रहेका छन् । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो । ५९ हजार २०४ मुद्दामा १६ हजार १७२ मुद्दा यहीँ नै छन् । त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन् ।
महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताउनु भयो । एक दिनमा नेपाल प्रहरीले २२६ वटा सवारी गस्ती, चेकिङ ६०९, पैदल गस्ती १ हजार ११०, ग्रामीण गस्ती ७१२ हुने गरेको बताउनु भयो ।
२४ घण्टामा ३० हजार ३७४ जनशक्ति सुरक्षामा खटिने गरेको बताउनु भयो । नेपाल प्रहरीलाई नेपालभरि २४ घण्टामा ७ हजार २५५ वटा आउने गरेको बताउनु भयो ।