२०८२ साउन १, बिहिवार , ०४:३२:५६ बजे

Sajhamanch
'

‘आईएमई पे’ र ‘खल्ती’ को एकीकृत सेवा शुरू, अब ‘खल्ती बाई आईएमई’

बिहिवार, साउन १, २०८२

काठमाडौं । ‘आईएमई पे’ र ‘खल्ती’ वालेट ‘मर्ज’ भई आजदेखि ‘खल्ती बाई आईएमई’ नाममा एकीकृत कारोबार शुरू भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।

यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पूँजी ५४ करोड रुपैयाँभन्दा धेरै पुगेको छ । सेवाग्राही र पूँजीले ‘खल्ती बाई आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।

यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ । यी दुई वालेट मर्जरमा जानुअघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।

ब्याज दिने एकमात्र वालेटका रूपमा चिनिएको ‘आईएमई पे’ रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने ‘खल्ती’ मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा चर्चित थियो ।

साविक ‘आईएमई पे’ प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाई आईएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रियामार्फत ‘आईएमई पे’ वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । ‘खल्ती’ प्रयोगकर्ताहरूले चाहिँ आफ्नो ‘एप’ अपडेट गर्नुपर्नेछ ।

‘आईमई पे’ — ‘आईएमई ग्रुप’ अन्तर्गत सञ्चालन हुँदै आएको थियो । यस्तै चार जना सह–संस्थापकद्वारा स्थापना भएको ‘खल्ती’ मा पछि ‘वर्ल्डलिङ्क’, ‘त्रिवेणी ग्रुप’ जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।

‘आईएमई डिजिटल सोलुसन्स’ का अध्यक्ष कृष्णप्रसाद शर्माले ‘आईएमई पे’ र ‘खल्ती’ बीचको मर्जरबाट बनेको ‘आईएमई खल्ती लिमिटेड’ ले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

‘खल्ती’ का अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र ‘आईएमई खल्ती लिमिटेड’ ले देशभर वित्तीय पहुँचको नयाँ युग शुरू गर्ने बताउनुभएको छ ।

‘आईएमई खल्ती लिमिटेड’ का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिनुभयो ।

‘आईएमई पे’ ले डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२४, एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स इन द फिनटेक क्याटेगोरी २०२३ र भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२३ मा एक्सलेन्स इन फिनटेक पार्टनरशिप अवार्ड प्राप्त गरेको थियो ।

त्यस्तै ‘खल्ती’ ले विस्टा ग्लोबल इनोभेशन एन्ड टेक एक्सलेन्स अवार्ड २०२२, २०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट लगातार २ वर्ष र नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको उच्च कदर स्वरूप सम्मान प्राप्त गरेको थियो ।

सम्बन्धित खबर