
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बङ्गलादेशबीच हुने भनिएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ ।
बङ्गलादेश फुटबल फेडेरेसन (बीएफएफ)को हिजो बसेको बैठकले दक्षिण एशिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो ।
यसअघि आउँदो सेप्टेम्बर ६ र ९ मा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको थियो ।
बीएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसार तीन चार दिनमा मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा हुनेछ । यद्यपि एकपटक बीएफएफले एन्फालाई खेल नखेल्ने भनेर औपचारिक पत्र भने पठाएको छैन ।
यी दुई टोलीबीच फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेल हुने भनिएको थियो । नेपालले यो खेललाई एएफसी एशियन कप छनोट तयारीस्वरुप लिएको थियो । योसँगै नेपालको तयारी अन्योलमा परेको छ ।
फिफा वरीयतामा नेपाल १७५औं र बङ्गलादेश १८२औं स्थानमा छन् । एशियाली कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेशिया, लाओस र भियतनाम छन् ।
नेपालले अहिलेसम्म दुई वटा खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । एशियाली छनोटमा नेपालले आउँदो अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ ।