
काठमाडौं । गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् माघदेखि चैतसम्ममा आर्थिक वृद्धिदर दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको हो ।
गएको आर्थिक वर्षको तेस्रो त्रैमासमा २ दशमलव २ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा अहिले ४ दशमलव २ प्रतिशत पुग्ने कार्यालयको प्रक्षेपण छ ।
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर हुनुमा विद्युत् उत्पादन तथा वितरण, निर्माण क्षेत्र, वित्तीय तथा बीमा क्षेत्र, खानी तथा खनिज पर्दाथ उत्खनन क्षेत्रमा भएको वृद्धि मुख्य कारण रहेको पनि तथ्याङ्क कार्यालयले जनाएको छ ।
यो आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् माघदेखि चैतसम्ममा १८ वटा औद्योगिक क्षेत्रमा धनात्मक वृद्धि भएको छ । यसैगरी निर्माण क्षेत्रमा ६ दशमलव ९, खानीतथा खनिजपर्दाथ उत्खनन र वित्तीय तथा बीमा क्षेत्रमा ६ दशमलव ७ प्रतिशत बढ्ने अनुमान गरिएको छ ।
अर्थतन्त्रमा दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको वृद्धिका कारणले व्यापार क्षेत्रमा ५ दशमलव ६ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।