
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ ।
यो खर्च विनियोजन बजेटको तुलनामा ४६ दशमलव ५९ प्रतिशत हो । गएको वर्षको असार १८ गतेसम्ममा पुँजीगत बजेट ४८ दशमलव ५७ प्रतिशत खर्च भइसकेको थियो ।
नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार देशमा हुँदा पनि विकासको गति अझै पनि सुस्त रहेको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको समग्र पक्ष हेर्ने हो भने कुल बजेटको झन्डै ७५ प्रतिशत खर्च भइसकेको छ ।
चालू आर्थिक बर्षको सरकारले लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो तर मध्यावधि समीक्षामार्फत तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले झन्डै दुई खर्बले घटाउनुभएको थियो ।
सञ्चालन खर्च र ऋण भुक्तानीमा भार बढ्दै गएको विकास बजेट खुम्चिदै गएकोमा सरकारले छुटाएको रकम समेत खर्च गर्न नसकेको हो ।