
काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ जना युवालाई सम्मान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको कार्यक्रममा मन्त्री शरतसिंह भण्डारीले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी उद्यमीहरुलाई सम्मान प्रदान गर्नुभयो ।
त्यसअवसरमा कोशी प्रदेशका रविन पोखरेल र राजीव खड्का, मधेसका शङ्कर सिम्खडा, बागमतीका कुमार श्रेष्ठ, गण्डकीका वसन्तबहादुर खड्का, लुम्बिनीका शोभाखर पौडेल, कर्णालीका लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिमका तर्कसिंह विष्टलाई सम्मान गरिएको हो ।
यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार झापाका पोखरेलले प्राप्त गर्नुभएको छ । सो पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ रहेको छ । अरू उद्यमीले जनही ७५ हजार रुपैयाँ पुरस्कार पाउनु भएको छ ।
स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, अनुभव र पुँजीलाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा अधिकाधिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउन पुरस्कारले प्रेरणा मिल्ने मन्त्रालयले जनाएको छ ।
सम्मानित हुनेहरूले विदेशबाट फर्केर कृषि उद्यम, ट्रेनिङ सेन्टर, पशुपालन, क्याटरिङलगायत व्यवसाय गर्दै आएका मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेकाहरूलाई पुरस्कृत गर्न मन्त्रालयले गएको पुस १६ गते आवेदनका लागि सार्वजनिक सूचना निकालेको थियो ।
त्यसअवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई उद्यमशीलतासँग जोड्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारमा जाँदैमा बौद्धिक पलायन नहुने भन्दै विदेशको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा भित्र्याउने उच्च अवसर हुने बताउनुभयो ।