२०८२ असार १७, मङ्गलवार , ०९:२०:०० बजे

Sajhamanch
'

११ महिनामा ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल आयात

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । धानचामल आयात गएको वर्षको तुलनामा करिब १७ अर्ब ८२ करोड रुपैयाँ बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ११ महिना जेठ मसान्तसम्म ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल आयात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा २१ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको थियो । हरेक महिना औसत तीन अर्ब रुपैयाँ भन्दा धेरैको धानचामलको आयात बढेकाले असार मसान्तसम्म थप तीन अर्ब मूल्यको आयात हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको चामल आयात भएको तथ्याङ्क छ । गएको वर्ष यो अवधिमा १२ अर्ब ४३ करोड रुपैयाँको चामल आयात भएको थियो । बाह्य देशबाट वस्तु स्वदेश आयात बढ्दा व्यापारघाटा थप नकारात्मक हुने अनुमान गरिएको छ ।

मन्त्रालयका अनुसार सामान्यतया वार्षिक झन्डै ७० लाख मेट्रिक टन धानको माग रहेकामा झन्डै ६० लाख मेट्रिक टन धान स्वदेशी उत्पादन हुने गरेको छ । झन्डै १० लाख मेट्रिक टन अपुग धान आयात हुने गरेको छ ।

कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न किसानलाई समयमै मल, बीउ, सिँचाइ सुविधा, अनुदानको व्यवस्थासहित यस क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको जानकारहरूले बताउने गरेका छन् ।

सम्बन्धित खबर