
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को तेस्रो व्यवसाय एनएमसी एग्रोफार्म र कृषि ज्ञान केन्द्र झापाको संयुक्त आयोजनामा विशेष कार्यक्रमसहित आज असार १५ गते २२औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
धान दिवसको यो वर्षको नारा ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’लाई कार्यान्वयन गर्दै एनएमसी एग्रो फार्ममा मेसिनबाट धान रोपेर दिवस मनाइएको हो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेकानिकल राइस ट्रान्सप्लान्टरबाट रोपाईंको शुरुवात गर्नुभएको हो । मेचीनगर १४ कमलबाडीस्थित एनएमसी एग्रो फार्मले रोपाईं दिवसका लागि करिब १२ कठ्ठा जमिन तयारी गरेको थियो ।
रोपाईं सुरु गर्नुअघि आयोजित विशेष समारोहमा सम्बोधन गर्नुहुँदै नगरप्रमुख बुढाथोकीले नेपालमा मुख्य अन्नबालीका रुपमा धान रोप्ने गरेको सदियौं वर्ष भएता पनि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा विगत २२ वर्षदेखि मनाउन थालिएको बताउनु भयो ।
आजभन्दा ४० वर्ष पहिलेको उत्पादन र आजको उत्पादन तुलना गर्दा अहिले कमी पो उत्पादन भइरहेको हो कि भन्ने पनि छ तर चामल आयात गरेको तथ्याङ्कलाई मात्र आधार नमानेर जनसंख्या बढेको, खपत बढेको तथा माग बढेको कुरालाई पनि स्मरण गर्नु जरुरी रहेको उहाँको भनाई थियो ।
पहिले जति क्षेत्रफलमा धान खेती हुन्थ्यो आज त्यति क्षेत्रफलमा छैन तर उत्पादन वृद्धि गर्नका लागि खेती प्रणालीलाई औजारीकरण र आधुनिकीकरण अपरिहार्य बनेको नगरप्रमुख बुढाथोकीले औंल्याउनु भएको छ ।
एनएमसीले सञ्चालन गरेको एग्रोफार्मलाई उदाहरणीय अभ्यास बताउनु हुँदै नगरप्रमुख बुढाथोकीले अरु कृषकलाई पनि आकर्षित गर्दै खेती प्रणालीलाई औजारीकरण र आधुनिकीकरणमा लैजान कस्टम हायरिङ सेवाले थप मद्धत गरिरहेको सुनाउनु भयो ।
एनएमसी एग्रो फार्मका कार्यवाहक संयोजक चन्द्रप्रसाद सिग्देलको अध्यक्षतामा आयोजित सो विशेष कार्यक्रममा मेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्टराईले एनएमसीलाई नेपालकै सफल एवम् अग्रणी सहकारी संस्था भनी सम्बोधन गर्नुभयो । कृषि क्षेत्रलाई एउटा फरक व्यवसायका रुपमा सञ्चालन गरेर संस्थाले स्थानीयको मन जितेको उहाँको भनाई छ ।
आफू जनप्रतिनिधि मात्र नभई कृषक पनि भएकाले किसानको संरक्षण गर्न सरकारले ध्यान नदिएको बरु एनएमसीले स्थानीय किसानलाई छुट सुविधा दिएर खेती प्रणालीमा यान्त्रिकरण गर्न मद्धत गरिरहेको वडाध्यक्ष भट्टराईको भनाई छ । पूर्वी नेपालको सीमा क्षेत्रका उर्वर भूमिहरु बाँझो राखेर अन्न आयात गरिरहनु पर्ने अवस्थामा पुगेको उहाँको गुनासो छ ।
किसानले सहुलियत नपाएको र उत्पादित अनाजको भाउ नपाएकाले एक बालीमा मात्र सिमित रहनु परेको उहाँको भनाई छ । धान रोपाईमा यान्त्रिकरण सुरु भए पछि यो वर्ष आफूले पनि एनएमसीबाट मेकानिकल राइस ट्रान्सप्लान्टर भाडामा लिएर रोपाईं गर्ने निधोमा पुगेको उहाँको भनाई छ ।
एनएमसी एग्रो फार्म परियोजना अधिकृत भुपाल गौतमले सञ्चालन गर्नु भएको सो कार्यक्रममा एनएमसीका समग्र व्यवसायहरुको अवस्थाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी गराउनु भएको थियो ।
यसैगरी, एनएमसी एग्रो फार्म स्थापनाको उद्देश्य र हालसम्म भइरहेका प्रगतिहरु, लगानी एवम् आम्दानीको अवस्थाका बारेमा व्यवसाय प्रमुख चेतन शर्मा पौडेलले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा वडा नं. १४ का जनप्रतिनिधिको तर्फबाट फूलकुमारी राजवंशी तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाका प्रमुख शितल भट्टराईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कृषि ज्ञानकेन्द्र झापाका कार्यालय प्रमुख सागर विष्टले असार १५ को धान दिवस, एनएमसी एग्रोफार्मको सहकार्यमा किन मनाइँदैछ भनी औचित्य प्रकाश पार्नुभयो ।
करिब १०० जनाको उपस्थितिमा सञ्चालित सो धान दिवस कार्यक्रममा एनएमसी एग्रो फार्म व्यवसाय उपसमितिका सदस्य पदमलाल गौतमले शाब्दिक स्वागत गर्नुभएको थियो ।