२०८२ असार ८, आइतवार , १०:३२:१४ बजे

Sajhamanch
'

इलाममा जंगली जनावरको आतंक बढ्यो

आइतवार, असार ८, २०८२

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा पछिल्ला महिनाहरूमा जंगली जनावरको आतंक तीव्र रुपमा बढेको छ। चितुवा, बँदेल, र बाँदरजस्ता जंगली जनावरहरूले दिनहुँ जसो घरपालुवा जनावर मार्ने र अन्नबालीमा नोक्सानी गर्ने क्रम बढेसँगै स्थानीयवासी त्रसित बन्दै गइरहेका छन ।

किसानहरूका अनुसार खेतबारीमा लगाइएको मकै, तरकारी, आलु, फर्सी, स्कुल जस्ता बालीहरू नियमित रूपमा जंगली जनावरहरूले क्षति पुर्‍याउन थालेका छन्।

साथै खसी, बाख्राजस्ता घरपालुवा जनावरहरूलाई चितुवाले बोक्ने, बँदेलले किसानहरूले लगाएको बाली खनेर नष्ट गर्ने र बाँदरले पाकेको फलफूल र तरकारीहरू उजाड पार्ने क्रमले किसानहरू मारमा परेका छन ।

साँझ हुने बित्तिकै खसी बाख्रालाई सुरक्षित स्थानमा सार्ने अनि बिहान भएपछि बाहिर निकाल्ने गर्न थालेको किसानहरूले बताएका छन । त्यसो गर्दा पनि खसी बाख्रालाई जंगली जनावरले आक्रमण गरिरहेका हुन्छन् ।

गाउँपालिका भित्रका सबै ६ वटै वडामा जंगली जनावरको गतिविधि र त्यसबाट हुने क्षतिको क्रम लगातार बढिरहेको जनप्रतिनिधिहरू बताउँछन्।

माईजोगमाई–३ का वडाध्यक्ष राम घिमिरेका अनुसार वडामा केही पीडितलाई राहत स्वरूप रकम उपलब्ध गराइएको भए पनि हालसम्म कहाँ कति क्षति भएको छ भन्ने यकिन विवरण भने संकलन गर्न सकिएको छैन।

“हामीले स्थानीय स्तरबाट प्राप्त जानकारीका आधारमा केही राहतको प्रयास गरेका छौँ, तर सबै पीडितबाट विवरण संकलन नभएकाले विस्तृत क्षतिको आकलन गर्न गाह्रो भएको छ,” वडाध्यक्ष घिमिरेले बताए।

इलाका प्रहरी कार्यालय नयाँ बजारका प्रमुख रमेश चौधरीले पनि क्षतिको यकिन तथ्यांक नआएको पुष्टि गरे। “स्थानीयवासीहरू प्रायः जसो घटना भएपछिको जानकारी दिन आउँदैनन्। जसका कारण हामीसँग कुनै आधिकारिक विवरण छैन,” चौधरीले बताए।

माईजोगमाई भरी अहिले सम्म कति खसी बाख्रा , कति अन्नबालीमा क्षति गर्‍यो सम्पूर्ण विवरण कसैसँग उपलब्ध छैन । दैनिक जसो एउटा न एउटा क्षति हुन गरेको स्थानीयहरू बताउँछन् ।

माईजोगमाई मात्र हैन समग्र इलाम जिल्लाभर नै पछिल्लो समय जंगली जनावरले आतंक मच्चाउँदै आएका छन । जनावरको आक्रमण मात्र होइन, त्यसबाट सिर्जना भएको त्रासका कारण स्थानीयहरूको दैनिक जीवन पनि प्रभावित बन्दै गइरहेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू एक्लै जंगलतिर घाँस, दाउरा लिन जान डराउन थालेका छन्। विद्यालय जाने बालबालिका तथा बिहान-बेलुका हिँडडुल गर्ने व्यक्तिहरू समेत असुरक्षित महसुस गरिरहेका छन्।

स्थानीयवासीहरूले जंगली जनावरको आतंकलाई न्यूनीकरण गर्न सरोकारवाला निकाय, वन कार्यालय र स्थानीय सरकारबीच समन्वय गरेर दीर्घकालीन रणनीति बनाउनुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, वन्यजन्तुको सुरक्षासँगै मानिसको जीविकोपार्जन र जीवन सुरक्षाको समेत सुनिश्चितता गरिनु आवश्यक रहेको छ।

सम्भावित समाधानका रूपमा बस्ती नजिकको जंगल वरिपरि तारजाली लगाउने, जनचेतना अभिवृद्धि गर्ने, क्षतिको विवरण संकलन गरेर राहत वितरण गर्ने, र वन्यजन्तु नियन्त्रणका लागि प्रविधि प्रयोग गर्ने जस्ता उपायहरू अवलम्बन गर्न सकिने देखिन्छ। तर यस्ता समस्या दीर्घकालसम्म जस्ताको त्यस्तै रहँदा जनआक्रोश समेत बढ्न सक्ने खतरा पनि देखिएको छ।

सम्बन्धित खबर