२०८२ जेठ २६, सोमवार , ०८:४०:३३ बजे

Sajhamanch
'

प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी : झापाको बुद्धशान्तिस्थित आदर्श माविले पायो ४ लाख रुपैयाँ पुरस्कार

सोमवार, जेठ २६, २०८२

झापा । नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले बिर्तामोडमा आयोजना गरेको तीन दिवसीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरी चार लाख रुपैयाँ नगद पुरस्कार जितेको छ ।

प्रतियोगिताको आज अन्तिम दिन विज्ञ निर्णायक टोलीले नतिजा सुनाएको थियो । जस अनुसार बिर्तामोडको देवी माध्यमिक विद्यालय दोस्रो र तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

दोस्रो हुने विद्यालयले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । यस्तै प्रतिभा प्रोत्साहन पुरस्कार वापत नौ वटा विद्यालयले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।

पाँचथरको फिदिम मावि, इलामको फिक्कल मावि, सुनसरीको ल्याबोरटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि र मोरङको रिलायन्स माविले प्रतिभा प्रोत्साहन पुरस्कार पाएका हुन् ।

प्रथम हुने विद्यालयका विद्यार्थीले ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ प्रदर्शनीमा राखेका थिए । दोस्रो हुने विद्यालयका विद्यार्थीले ‘बोल्ने रोबोट’ प्रदर्शनीमा राखेका थिए ।

देवी माविमा आयोजित प्रदर्शनीको उद्घाटन २४ गते शनिबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

प्रतियोगितात्मक प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालय सहभागी रहेका थिए । एक लाख दर्शकले प्रदर्शनीको अवलोकन गरेको आयोजकको दावी छ ।

सम्बन्धित खबर